Headline :

बिहेको मण्डपमा उनले मलाई भनिन्, म अरुकै हुँदै छु

uniquefm-img

सन्तोष खतिवडा

म कर्कलाको पात टिपेर ल्याउँथे । पहिलेदेखि भाँचेर राखिएका सिन्काहरू प्ाातमा राख्थेँ र उनीतिर हेर्दै भन्थेँ, योचाहिँ, चुरोट ।

कालिमुन्टेका स-साना पातका पैसाले उनी सिन्काका चुरोट किन्न आउँथिन् । स-साना बाटुला परेका ढुंगालाई चकलेटको खोलभित्र राखेर बटारेपछि हामीले बेच्ने चक्लेट तयार हुन्थ्यो । कहिलेकाहीँ वाइवाई र मामा चाउचाउको खोल पाइयो भने त त्यो खोलभित्र माटो टन्न राखेपछि हाम्रो त्यो सानो पसलमा बेच्ने सामान प्रशस्तै हुन्थ्यो ।

‘पसल थापी’ खेल खेल्दाखेल्दै अल्छी लाग्थ्यो उनलाई । धेरैचोटि म पसले बन्थे । उनलाई कहिलेकाहीँ मात्र पसले बन्न दिन्थेँ, सायद पुरुषप्रधान समाजको पुरुष हुँ भन्ने सोच बालसुलभ मष्तिस्कमा पनि थियो ।

santosh katiwoda

सन्तोष खतिवडा

दुई कक्षामा पढ्थ्यौं हामी । २ कक्षाको अन्तिम परीक्षाको रिजल्ट भयो । उनी प्रथम म द्वितीय । बुवाले मेरो पाइन्टबाट बाहिर निक्लिएको सर्टलाई पाइन्टभित्र च्याँपिदिँदै भन्नुभयो, ‘तलाईं जिती त इच्छाले ।’ यसो भनिरहँदा हार्नुको पीडा मेरो बालक आँखाले पनि ठम्याएकै थियो, तर मलाई लाग्यो बुवा निराश हुनुपर्ने कुनै कारण नै छैन, इच्छाले जितेको त हो, आफ्नै इच्छाले । बेलुका फेरि पसल थापी खेल्दा भनिहाल्छु नि, ‘तिमीले मलाई नजित, म नै जित्छु तिमीलाई ।’ अनि उनले मानिहाल्छिन् नि । सँगैसँगै हुर्कियौँ हामी । उनी सुन्दर थिइन् । बुवाले पूजाकोठामा राधा कृष्णको तस्बिर झुन्ड्याउनुभएको थियो । मेरा लागि त्यो तस्बिरको राधा भन्दा सुन्दर थिइन् उनी । मैले पनि मेरो कोठाको भित्तामा फिल्मकी हिरोइन् काजोलको तस्बिर टाँसेको थिएँ । उनी त्यो काजोलजत्तिकै सुन्दर थिइन् । आँखा त ठ्याक्कै मिल्थे, ओठ पनि, दाँत पनि उस्तै, साह्रै राम्री ।

उमेर बढ्दै गयो । हाम्रो खेल खेल्ने साथीहरू फरक-फरक हुन थाले । म केटा साथीसँग चोर-पुलिस, पांग्रा गुडाई र गुच्चा खेल्न थालेँ । उनीहरू घोई सारी र गट्टा खेल्न थाले । हाम्रो बोलचाल कम हुन थाल्यो । उनको करेसाबारीमा साग र मुला प्रशस्त उब्जन्थे । उनी डोकोमा राखेर बजारसम्म बेच्न लैजान्थिन् । आमाभन्दा अगाडि नै आफ्नो डोकोको तरकारी बेचिसक्थिन् रे । मेरो दाइको व्रतबन्धमा पात गाँस्न भेला भएका बेला उनको आमाले सुनाएको । म त एक टकले सुनेको सुन्यै भएथेँ । जंगलमा दाउरा काट्न पनि जान्थिन् । वनपालेले भेटाइहाले उसलाई सम्हाल्ने र फुत्किन सहयोग गर्ने पनि इच्छा नै हुन्थिन् ।

असाध्यै मेहनती थिइन् इच्छा । हाम्रो घरको भन्दा उनको घरको आर्थिक अवस्था कमजोर थियो । ५ कक्षासम्म हामी सँगै प्राथमिक विद्यालयमा पढ्यौँ । ६ कक्षामा उनी सरकारी विद्यालयमा पढ्न जाने भइन्, म बोर्डिङमा । हाम्रो स्कुल फरक भयो । घर सँगै भए पनि हाम्रो भेटघाट पातलियो । घरसँगै सार्वजनिक धारा थियो, इच्छा पानी भर्न जान्थिन् । मेरो घरमा दाइ, दिदी र मबीच घर बाहिरको काम विभाजन हुन्थ्यो । पानी भर्ने काम मैले नै रोज्थेँ, कारण इच्छा पानी भर्न त्यही आउँथिन् । उनी कहिलेकाहीँ धारामा नुहाउँथिन् पनि । इच्छा पेटिकोटले आफ्नो छाती छोप्थिन् । अनि, आधा ढाड देखाएर धारामा थापिन्थिन् । पानीका थोपा उनको त्यो सुन्दर ढाडमा मोतीझैँ चम्कन्थे । पातलो पेटिकोट पानीले भिजेपछि उनका सुन्दर अंगका आकृति बाहिरबाट देखिन्थ्यो । तिनले काउकुती लगाउँथ्यो मलाई, म हेरिरहन्थे । मैले एकटकले हेरेको थाहा पाएपछि थोरै लजाएर पेटिकोट माथि रुमाल थपेर बेर्थिन् ।

बाल्यकालको राम्रो मित्रता, सँगै खेल्ने, सँगै पढ्ने हामी यौवनावस्थामा आउन्जेल मुखले बोल्ल छोडिसकेका थियौँ । आँखाहरू बोल्थे, सायद के बोल्थे, महसुस नै गर्न सकिएन । उनले गर्थिन् होला मैले उनको आँखा पढ्नै सकिनँ । इच्छाले द्वितीय श्रेणीमा एसएलसी पास गरिन्, मैले प्रथम श्रेणीमा । रिजल्टको दिन नरमाइलो लाग्यो, २ कक्षाको रिजल्ट सम्झिएँ । इच्छाले मलाई जितेको भए पनि हुन्थ्यो भन्ने लाग्यो । हामी छुट्टाछट्टै कलेज पढ्ने भयौँ । मनभरि सँगै पढ्ने चाहना भएकै थियो । कलेज पढ्न थालेको केही दिनपछि नै इच्छाको विवाहको हल्ला गाउँभरि आयो । म विचलित भएँ । इच्छा त मेरो आफ्नो पो हो, कसरी उसको अरुसँग विवाह हुन सक्छ । घरमा गएर ममीसँग भनेँ, ‘ममी म विवाह गर्छु ।’

मभन्दा माथिका दाइ र दिदीको विवाह भएकै थिएन । त्यसमाथि पनि मेरो उमेर विवाह गर्ने नै थिएन । आफ्नो विवाहको कुरा आफैं ले गरेँ, त्यो पनि उमेरै नपुगी । त्यो सबै अनौठो लागिरहेको थियो सायद ममीलाई । मेरो प्रस्ताव ममीसँग पुग्यो र त्यहीँ रोकियो । तर, इच्छाको विवाहको कुरा भने रोकिएन ।

किन आकर्षित थिएँ म इच्छासँग, मैले कहिल्यै थाहा पाउन सकिनँ । उनीसँग आकर्षण शारीरिक थियो या आत्मिक, त्यो पनि थाहा पाउन सकेको थिइनँ ।

इच्छासँग बच्चामा दुलाहादुलही खेल्दा सधैँ उनको दुलाहा म नै बन्थेँ । कहिलेकाहीँ अरु दुलाहा बनिहाले भने म त्यो खेल नै भँाडिदिन्थेँ । अर्कै खेल खेल्ने भन्थेँ । बच्चामा खेल खेल्दा अरुलाई इच्छाको दुलाहा हुन कहिले नदिने म वास्तविकतामा इच्छाको दुलाहा अरु नै हुने कुराले विचलित भएको थिएँ । मेरो दाजुदिदीभन्दा म किन ठूलो भएनछु, किन जेठो छोरो भएर जन्मिनछु भन्ने प्रश्न मनभरि पालेर भौँतारिरहें ।

एकाएक इच्छाको विवाहको कार्ड मेरो घरमा आयो । दिन बित्दै गए कार्ड मात्र होइन, कार्डमा लेखिएको दिन पनि आयो ।
आमा विवाहमा जान तयार हुँदै हुनुहुन्थ्यो । मतिर हेेरेर भन्नुभयो, ‘तेरो बच्चादेखिकै साथी इच्छा, साह्रै सरल, राम्री थिई, जात पनि मिल्थ्यो । तेरो विवाह उससँगै गरौँला भनेको त कति चाँडै विवाह गर्दिए ।

आमाले यसो भनिरहँदा जिस्काएजस्तै लाग्यो, तर आमाको आँखामा मप्रति सहानुभूति पाएँ । मेरो परिवर्तित व्यवहारले शंका पो गर्नु भयो कि क्या हो ?

इच्छाको घर मेरोभन्दा थोरै तल थियो । बाजाको आवाज प्रस्ट सुनिन्थ्यो । बाजाको आवाजले पनि जिस्काइरहेको जस्तो लाग्यो । आमाले मलाई विवाहमा जान कर गर्न थाल्नुभयो । मैले झोँक्किएर जान्न भनेँ ।

आमा एक्लै जानुभयो, उहाँकै उमेरका संगीसँग । मेरो आँखाअगाडि अँध्यारो संसार मात्र थियो । इच्छा अब गाउँमा देखिन्नन् ।  धारामा नुहाउँदिनन् । इच्छा अब मेरो नजिक छैनन् । उनी त अरु कसैकी श्रीमती भइसकिन् । उनको त्यो सुन्दर मन र शरीरमाथि अरु कसैको राज चल्छ । यस्तै सोच्दै थिएँ, आमा आइपुग्नुभयो ।

भन्नुभयो, ‘बाबु इच्छाले तँलाई असाध्यै भेट्न खोजेकी छे । जसरी पनि एकपल्ट जा रे ।’ मलाई जान पटक्कै मन थिएन, इच्छासँग भेट्न हिम्मत पनि थिएन । इच्छालाई गुमाउनुको पीडा मनभरि थियो नै । त्यो पीडाबीच उनलाई भेट्नु झनै घाउमा नुन दल्नु बराबर हुन्थ्यो । हिम्मत निकालेर म इच्छालाई भेट्न विवाह घर गएँ । इच्छालाई यज्ञको सबै काम सकाएर भित्र कोठामा लगेको रहेछ । लगभग अन्माउने बेला भइसकेको रहेछ ।

मलाई देख्नेबित्तिकै इच्छा मुस्काइन् । तर, उनको मुस्कानमा पूर्ण खुसी थिएन । बसिरहेको कुर्सीबाट उठिन्, अनि मतिर आएर मेरो दुइवटा हात समाउँदै भनिन्, ‘सत्कार, तिम्रो बाल्यकालको साथीले तिमीसँग नभेटी विवाह सम्पन्न गर्न सक्छे त ? अनि, बच्चामा दुलाहादुलही खेल्दा सधैँ मलाई दुलही बनाउँथ्यौ । म अरुको दुलही भएँ भने त्यो खेल नै खेल्दैनथ्यौ । आजचाहिँ किन त्यसो नगर्ने ? मलाई सहजै अरुको हुन दिने ?’

इच्छाको आँखाबाट आँसु झरिरहेका थिए । ती आँसुको थोपा भित्र अव्यक्त प्रेमको पीडा प्रस्टै देखिन्थ्यो । मलाई समाएका उनका हात छुटाएर म त्यहाँबाट भागेँ । दौडिँदै गर्दा मनमनै अठोट गरेँ, ‘इच्छा, म तिम्रो यादमा जीवनभर एक्लै बस्नेछु । म तिमीबाहेक अरुसँग जीवन काट्न सक्दिनँ ।’

आज फागुन १५ गते, इच्छाको विवाह भएको पनि पाँच वर्ष भयो ।

खै थाहा छैन, त्यो मेरो प्रतिज्ञा क्षणभरको संवेग वा जीवनभरका लागि भीष्मप्रतिज्ञा के हुने हो । तर, आजसम्म इच्छाको यादमा एक्लै भाग्दै छु, भौँतारिँदै छु, नितान्त एक्लै ।

ताजा समाचार

More

On Air

MUSIC THROUGH SECOND PHASE LIVE Upto 11:00 PM

Coming Up Next

UNIQUE NEWS Upto 11:10 PM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top