१२ असार, काठमाडौं ।  शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीले चार बुँदे माग सार्वजनिक गर्दै माग पूरा नभए २६ असारदेखि आमरण अनशनमा बस्ने घोषणा गर्नु भएको छ ।

आज शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै डा. केसीले भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्ने संस्थाको व्यक्ति आफैं भ्रष्टाचारमा लिप्त भएको, र मेडिकल कलेजमा निश्चित शूल्कमा भर्ना लगायत समग्र सुधारको प्रक्रिया अवरूद्ध पारेको आरोप लगाउनु भयो ।

डा. केसीले चिकित्सा शिक्षा ऐनको मस्यौदामा पाँच वटा सुधार गरेर संसदको यहीअधिवेशनबाट पारित गर्न, माथेमा प्रतिवेदनको सुझावविपरीत काठमाडौंमा खोल्न प्रस्तावित प्रतिष्ठान सम्बन्धि संसदमा विचाराधीन विधेयक तत्काल फिर्ता गर्न र आफूसँग विगतमा भएका सहमति सम्झौता पालना गर्न पनि माग गर्नु भएको छ ।

दुई हप्ताभित्र उल्लेखित माग पूरा नभए आमरण अनशन सुरु गर्ने जानकारी दिँदै मेडिकल माफियाकरणका विरुद्ध निरन्तर संघर्ष गरिरहने बताउनु भयो ।