Headline :

बास बसेको गुफाभित्र बाघ पो रैछ !

uniquefm-img

पार्वती केसी -  मेरो नाम पार्वती केसी हो । म अहिले ८१ वर्षको भएँ । म रुकुम जिल्लाको बाँफीकोट गा.वि.स. वडा नं. ९ नेपानेमा स्छु । मेरो १४ जनाको सँयुक्त परिवार छ । तर म अहिले एक्लै बस्छु । एक्लै बसेपनि मलाई खानेकुरा मेरा दुई भाइ छोराहरुले ल्याइदिन्छन् । मलाई सरकारले महिनामा पाँच सय रुपैयाँ भत्ता दिन्छ । त्यसैबाट अरु खर्च जुटाउँछु । म बिरामी हुँदा छोरा–बुहारी र नातिहरुले हेर्छन् । मेरो श्रीमानको निधन भएको १६ बर्ष बितिसक्यो ।

पहिले र अहिले निकै परिवर्तन भएको छ । अहिले कति सुखका दिन आए । मेरो बुढा बाँचेको भए कति सजिला दिनहरु देख्दा हुन् । हामी सानो छँदा चप्पल बिना नेपालगन्जबाट हिँडेर नुन ल्याउनुपर्थ्यो त्यो पनि बोकेर । एकपटक धेरै दुःख भएको थियो । हामीले ल्याएको सामान र नुन सल्यानको जङ्लमा चोरले चोरेको थियो । त्यत्तिबेला हामी धेरै रोयौं । रुँदैरुँदै घर आएका थियौं । कति हो कति दुःख लागेको थियो । हिजो आज त हामीले भोगेका कुरा सुनाउँदा कसैले पत्याउँदैनन् । कथा भनेको जस्तो मान्छन् ।

रुकुम धेरै धौ हुने ठाउँ हो । त्यतिबेला नदी नाला धेरै थिए । पुलहरु नहुँदा कति हो कति हिँडनु पर्ने । हामी ९ दिदीबहिनी र तीन दाजुभाइ थियौं । परिवारको जेठो सन्तान म आफै भएकाले घरका काम मेलापात, घाँसदाउरा र पर्म तिर्ने काम मैले नै गर्नुपर्थ्यो । हाम्रो पालामा यति धेरै सुख सयल थिएन । नुन चामल ल्याउनु परे भोट (हालको जुम्ला) या नेपालगंज जानुपर्थ्यो । घरदेखि जङलसम्मको काम मेरो जिम्मामा थियो । पढ्नुपर्छ भन्ने कुरा नै हामीलाई थाहा थिएन । काम जसले बढि गर्न सक्यो त्यसैले सम्मान पाउँथ्यो ।

मलाई एउटा घटना अहिले पनि याद आइरहन्छ । सायद म त्यतिखेर ९–१० वर्षकी थिएँ । खुट्टामा चप्पल थिएन । न्यानो कपडा लगाउने त कुरै भएन । वर्षातको समय भएकाले सिमसिम पानी परिरहेको थियो । मेरो बुवासँग नुन ल्याउन भोट जानुपर्ने भयो । त्यहाँ बेच्न घिउ लान्थ्यौं अनि त्यो घिउ बेचेर नुन किन्थ्यौं । भोट पुग्न १० दिन, त्यस्तै आउन १२ दिन लाग्थ्यो । लेकको बाटो हिँड्नुपर्थ्यो। हामी साउन या भदौमा २०/२५ जनाको समूहमा भोट गयौं । बाटोमा खान सातु (खाजा भुटेर दलेको पिठो) र कसार बोक्थ्यौं । घरेली, निगालपानी, परिखोला र छिनिमन्का हुँदै भोट पुग्थ्यौँ । वर्षातको समय लेकको बाटो हिँड्नु पर्ने त्यो पनि रातारात । दियालो बालेर हिँड्थ्यौं । आउँदा जाँदा हाम्रो बास ओढार, गुफा र पौवामा हुन्थ्यो । बाटोमा झारपातको तरकारी बनाएर खानुपर्थ्यो । भोट जाँदा १० रुपैयाँ लिएको थिएँ । १० रुपैयाँले बाह्र लम्बर नुन किनेको याद छ । एकदिन हिँड्दाहिँड्दै हाम्रो बास एउटा गुफामा भयो । दुई समूहमा बास बसेका थियौं । बास बसेको गुफाभित्र बाघ पो रहेछ । तरकारी पकाउने आगो फुक्दै गर्दा धुवाँले निसास्सिएर हामीलाई उछिन्दै बाहिर आयो । धन्न केही भएन ।

मुखियाका घरमा पसल थियो । त्यहाँ सलाई पाइन्थ्यो । जाँदा दुईवटा घिउका बाकस हन्थे । घिउका बाकस मुखियालाई दिएर हामीले अरु समान ल्याउनुपर्ने ।

अर्कोेपटक १३ बर्षको उमेरमा नुन र चामल ल्याउन नेपालगन्ज गएँ । नेपालगन्ज जाँदा १४ दिन र आउँदा १८ दिन लागेको थियो । नदीको किनार किनारै कालिमाटी हुँदै जान्थ्यौ । त्यो पटक ३५ जना थियौं । नेपालगन्जको यात्रामा पनि पाटी, पौवा र गुफामा रात बिताउँदै गइयो । एक रुपैयाँमा नम्वरी नुन पाइन्थ्यो । कपडा पनि त्यतिकै सस्तोमा पाइन्थे । डबललेटका कपडा लगाउँथ्यौ । नेपालगञ्ज जाँदा पहिलोचोटी त्यहीँ ट्रयाक्टर देखेको थिएँ । डर पनि लाग्यो ।

बाटोमा सामान ल्याएर घर आउँदा चोरहरुले दुःख दिन्थे । हामी सल्यानको भोटेचौरको खोलामा बास बसेका थियौं । राति १२ बजेतिर हो जस्तो लाग्छ मान्छेहरु कराएर डाँडावारी र डाँडापारीबाट प्रश्न गर्दै थिए । पारिकोलाई लौरु हुन कि बगेर्ना भनेर सोध्दा पारिकाले लौरु भनेर जवाफ दियो । लौरु कि बगेर्ना भन्ने शब्द चोरहरुले प्रयोग गर्ने गर्थे । लौरु भनेको हाटबाट टन्न सामान बोकेर घर आउँदै गरेका र बगेर्ना भनेका पैसा लिएर हाट जाँदै गरेका भन्ने बुझिन्थ्यो ।

उनीहरुले विशेष गरि लौरु भन्दा बगेर्नालाई बढि लुटने गर्थे । तर त्यो दिन हामीलाई नै लुटे । हामी टाढा टाढा सुतेका थियौं । हामीसँग भएका १० जनाका डोका र सबै समान लगे । मेरो बुवा चोरसँग झगडा गर्नुभयो तर केही लागेन । अरुको समान भने बच्यो । हामी धेरै भएपनि रातको समय चोरको प्रतिकार गर्न कसैको हिम्मत थिएन । रुँदै रुँदै घरमा आयौं । आज जस्तै लाग्छ नदीको किनारमा सुतेको बेला हामीले ओडेको सिरक र डोकाको सामान पनि लगिदिन्थे । जति रोए पनि कराए पनि कसले सुन्ने हाम्रा कुरा ?

प्रस्तुति: आदर्श के.सी/उज्यालो

उज्यालोबाट

ताजा समाचार

More

On Air

REPEAT MUSIC THROUGH Upto 05:00 AM

Coming Up Next

ALL VAJAN Upto 05:30 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top