Headline :

कथा :

कथा :

ऊ आई, जसरी पहिले-पहिले टुप्लुक्क आइपुग्ने गर्थी। मन खुसीले बुरुक्क उफ्रियो। तर, देखाउनु भएन। मनमा भर्खर आएको बाढी रोकेर मैले शान्त देखिने प्रयास गरेँ। उसले मेरो विचलन बुझेकी हुनुपर्छ। म उसको अगाडि पारदर्शी छु।

आज उसले गाजल लगाइनछे। एकरात मेन स्ट्रिटको चोकमा बसेर चुरोट तान्दै गरेको बेला मैले उसलाई सोधेको थिएँ, ‘तिमी त शृंगार मन नपराउने मान्छे, आज किन गाजल लगाएकी त?’ 

‘आकाश, केटीहरूमा केटामा भन्दा भोजन २ गुणा, लाज ४ गुणा, साहस ६ गुणा, र कामेच्छा ८ गुना बढी हुन्छ रे। त्यसैले मैले पनि मेरा भोकहरू तृप्त पार्न पासो थापेकी,’ यति भनी सकेर मुसुक्क हाँसी। अनि, चुरोटको लामो सर्को तानी।

‘कति जनालाई पछार्ने विचार छ त आज?,’ मैले सोधी हेरेँ। ईर्ष्या लाग्यो। 

‘एक जनालाई त पछारी सकेँ। बाँकी हेरौँ, कति पुग्छन्,’ देब्रे आँखा झिम्क्याएर ऊ फेरि हाँसी।

मलाई उसले गाजल लाएको अनौठो लागेको थियो। त्यो अनौठोपन सुन्दर थियो, ती आँखाहरू चुमिहालूँजस्तो। मैले उसलाई भनिनँ। तर, उसले त्यतिकै बुझी। मलाई दिक्क लाग्यो। 

‘तिमीमा केटी मान्छेमा हुने गुण छन् र?’ रुखो स्वरमा भनेँ मैले। 

‘हो है! त्यसो भए मलाई नपुंसक भन न त,’ यति भनी सकेर ऊ खित्खिताएर हाँसी। मेरो रुखोपनले उसलाई काउकुती लाइदियो। 

‘मलाई त तिमी केटाजस्तो लाग्छ,’ उसका व्यवहार उद्दण्ड हुन्थे।

‘भैगो मलाई नपुंसक नै हुन देऊ। लिंगमा वुद्धि झुन्ड्याएर हिँड्ने रहर छैन मलाई,’ उसले हाँसी-हाँसी भनी।

यस्तै खस्रा कुरा गर्थी ऊ। घरीघरी मलाई आफ्नो अस्तित्व उसले उडाउने गरेको चुरोटको धुँवाझैं लाग्थ्यो। 

त्यही बेला एउटा केटा उसको नजिकै आएर कुरा गर्न थाल्यो। उसले पहिलेदेखि चिनेकी हो कि भर्खर थापेकी पासोमा परेर आएको हो, म अन्दाज गर्न खोज्दै थिएँ, ऊ ‘डाक्डर सा’ब, आजको साथ यत्तिनै, भोलि भेटौँला’ भनेर त्यो केटोसँग हिँडी।

भर्खरसम्म रक्सी र चुरोटको उन्मादले बाफिएको रात मलाई एक्कासि चिसो लाग्यो अनि घर फर्किएँ। ऊ त्यो केटोसँग कहाँ गई होली, के-के गरी होली भन्ने सोचले मलाई धेरै बेरसम्म निदाउन दिएन।

‘कहाँ गएकी हिजोको केटासँग?,’ सुरुसुरुमा सोधेको थिएँ मैले। 

‘तिमी मेरो पोइ हो र जवाफ माग्ने?’ भन्दी। म अलपत्र परेँ। 

हुन त ऊ मेरी बहिनीकी साथी तर भन्नु मात्रैको। परिचय गरेकै क्षण ‘अनि डाक्डर साब, पिएचडी ज्ञान बढाउन गरेको कि नाम बढाउन गरेको त तिमीले?’ भनेर सोधी।

एउटी नवयौवनालाई भेटेर लाग्न आँटेको काउकुती निदाएको खुट्टा झन्झनाएझैं गरेर सक्कियो। त्यसपछिका दिनहरूमा म ऊसँग तर्किन खोज्थेँ। तर, कसो-कसो ऊ मैसँग ठोक्किन आइपुग्थी। जानेर हो कि अन्जानै मैले आजसम्म बुझ्न सकेको छैन। बुझ्ने प्रयासमा कयौं तर्क-वितर्क गरेँ तर मेरा कुनै तर्कले ऊ परिभाषित भइन। अनि बगिदिएँ, उसकै गतिमा ।

हामीले कैयौं रात मेन स्ट्रिटका बारमा बरालिएर बितायौं। कहिले ऊ आउँदै मातेर आइपुगेकी हुन्थी। कहिले एक थोपो अल्कोहल पनि मुखमा नहाली फर्किन्थी। लामो अनुहार, अनुहारमा ठिङरिङ्ग उभिएको नाक, न काली न गोरी, घुम्रेका कपाल, झट्ट हेर्दा फेरि नहरे पनि फरक नपर्ने आकृति। कहिले ऊ जिनोको दर्शनको कुरा गर्थी, कहिले माया एन्जिलोउको कविताका हरफहरू भन्थी। कहिले भने आफ्नै उन्माद्ले भरिएर १६ वर्षे किशोरीझैं उत्ताउली भइदिन्थी।

म उसलाई बुझ्नै सक्दिनथेँ। त्यसैले आफ्ना सबै कुण्ठित चाहनालाई आँखाभरी समेटेर निहार्थें। कहिलेकाहीँ सोध्न मन लाग्थ्यो- ‘म तिम्रो पोइ भएँ भने पनि तिमी यस्तै हुन्थ्यौ?’

तर सोधिनँ, सोध्नै सकिनँ।

म एउटा सामाजिक चरित्रको घेरो नाघ्न नसकेको औसत मान्छे। म ऊजस्तो म मात्रै हुन सक्दिनँ, त्यसैले हामीमा जोडिएको छु। हरेक कुरा मैले हामी भन्ने घेरोभित्रको आचरणसँग तौलिएर गर्नुपर्ने हुन्छ। उसलाई त्यो प्रश्न सोध्न मैले त्यो घेरो नाघ्नुपर्ने हुन्थ्यो। वास्तवमा भन्ने हो भने त्यो घेरो नै मेरो परिचय थियो । त्यसलाई सरक्क मेटेर म कसरी उसको स्वछ्न्दतालाई छाँद हाल्न सक्थेँ र? सक्दै सकिनँ। 

यसैगरी बित्दै थिए मेरा युनिभर्सिटीका अन्तिम दिनहरू। मैले एउटा राम्रो जागिरको अफर पनि पाइसकेको थिएँ। तर मेन स्ट्रिटमा अझै बरालिरहन मन थियो। त्यहाँको रातको मादकतामा अझै हराइरहन मन थियो।

* * *

 

युनिभर्सिटी छोडेपछि आजै भेट भएको हाम्रो। मैले नै फोन गरेको थिएँ, उसलाई निम्तो दिन। 

‘तिम्रो बिहेमा म किन चाहियो र?’ भनी हाँस्दै। 

‘चाहिएर बोलाएको होइन। मन लागेर बोलाएको,’ मैले नहाँसी भनेँ। 

‘म आउँदिन होला,’ उसले फोन राखिदिई। 

तर ऊ आई। ऊ जहाँ पनि पुग्न सक्छे। यहाँ पनि आई।

मैले उसलाई मेरी नवविवाहित पत्नीसँग परिचय गराएँ । उसले हाँसेर ‘बधाइ छ’ भनी। सुसुप्त मेरो मनमा रहर थियो, उसलाई देखाउन- हेर कत्ति राम्री दुलही पाएको छु।

साँच्चै मेरी दुलही राम्री थिइन्। सज्जन, सुसंस्कृत। मेरा बुबाआमा, नातागोता सबैलाई मन परेकी। मेरा चाहनाहरू नै उनका रहर थिए। उनी तिनै रहरहरूको परिधिभित्र बाँच्न पाउँदा धन्य थिइन्। त्यो परिधि नाघेरा उनी स्वतन्त्रताको स्वाद चाख्न हिँड्लिन् भन्ने पिर मलाई थिएन ।

त्यही बेला मेरी दुलहीका केही साथीहरू आए। उनी तिनीहरूसँग कुरा गर्न लागिन्।  

‘आउँदिन भन्थ्यौ त तिमी,’ मैले मौका पाएर सोधें उसलाई। 

‘तिमी खुसी छौँ कि छैनौँ भनेर हेर्न आएकी,’ मेरा आँखामा हेर्दै भनी उस्ले।  

‘खुसी छु कि छुइनँ त म?’ गम्भीर भएर सोधेँ मैले। हो, म आफैँलाई यकिन थिएन- म खुसी छु कि छुइनँ। त्यसैले उसको जवाफमा म आश्वस्त हुन चाहन्थेँ। त्यही बेला अरु मान्छे आए। जीवनको एउटा जटिल प्रश्नको उत्तर पर्खिराखेको बेला मलाई व्यवहारले व्यस्त बनाइदियो।

उसले मुसुक्क हाँसेर ‘टेक केयर’ भनेर हिँडी। ऊ जति टाढा हुँदै गई, मलाई ती सबै आफन्तबीच एक्लै भएझैं लाग्यो।

ताजा समाचार

More

On Air

PRABHAT BANI Upto 06:15 AM

Coming Up Next

BANI BAHASH Upto 07:00 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top